‘वेश्यावृत्ति’ शब्दको विकल्प खोजिँदै
काठमाडौँ, ८ मङ्सिर ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त वैकल्पिक शब्द राख्ने विषयमा संसदीय समितिमा छलफल भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा शब्द परिवर्तन र त्यसले पार्ने कानुनी प्रभावबारे बहस भएको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयले विभिन्न चरणमा छलफल गरे पनि उपयुक्त विकल्पमा सहमति जुट्न नसकेको बताउनुभयो । उहाँले उपयुक्त शब्द सुझाउन समिति सदस्यलाई आग्रह गर्दै प्राप्त सुझाव विधेयकमा समावेश गर्न मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो ।
समिति सभापति आकृति अवस्थीले शब्द परिवर्तन गर्दा त्यसले समेट्दै आएको कानुनी अर्थ नहराउने र अपराधमा संलग्न व्यक्ति सजायबाट उम्कन नसक्ने गरी विकल्प खोज्नुपर्ने बताउनुभयो । शब्द हटाउने प्रस्ताव मात्र पर्याप्त नहुने भन्दै त्यसको सट्टा प्रयोग गरिने शब्द र त्यसको कानुनी आधार स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।
संशोधनकर्ता सांसदहरूले ‘वेश्यावृत्ति’ शब्दले विशेषगरी महिलालाई सामाजिक कलङ्क र विभेदको भार बोकाउने भएकाले त्यसको सट्टा वैकल्पिक शब्द प्रयोग गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ ।
तर, उपयुक्त शब्दबारे सहमति जुट्न नसकेपछि समितिले सम्बन्धित दफामाथिको छलफल अर्को बैठकमा गर्ने निर्णय गरेको छ । विधेयकमा शोषणको परिभाषाभित्र दास वा बाँधा बनाउने, वेश्यावृत्तिमा लगाउने, यौन शोषण गर्ने, मानिसको अङ्ग झिक्ने र जबर्जस्ती श्रममा लगाउने कार्यलाई समेटिएको छ । यही कानुनी व्यवस्थामा प्रयोग भएको शब्दको विकल्प खोज्ने विषय अहिले छलफलमा रहेको छ । ०००००











प्रतिकृया दिनुहोस