आज गुरु नानकको जन्मजयन्ती

बिर्तामोड, ८ मंसिर । 
विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् । यस अवसरमा देश तथा विदेशका गुरुद्वारामा विशेष पूजापाठ, धार्मिक प्रवचन तथा सामूहिक भोजनलगायत कार्यक्रम आयोजना गरिएका छन् ।
सन् १४६९ अप्रिल १५ मा हाल पाकिस्तानको पञ्जाबमा पर्ने तलवडीमा जन्मिनुभएका गुरु नानक शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुनुहुन्छ । उक्त स्थान अहिले ननकाना साहिबका नामले चिनिन्छ ।
गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिनुभएको थियो । उहाँले जातीय विभेद, छुवाछूत र सामाजिक असमानताको विरोध गर्दै मानवता, सेवा र सद्भावलाई प्राथमिकता दिनुभएको थियो ।
उहाँद्वारा रचित ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा परिचित छ । जन्मजयन्तीका अवसरमा शिख धर्मावलम्बीले यसको पाठ गर्नुका साथै गुरुद्वारामा श्रद्धालुलाई सामूहिक भोजन गराउने परम्परा छ । 

प्रतिकृया दिनुहोस