डिसेम्बर १६ मा स्वदेश फर्कने शेख हसिनाको घोषणा
काठमाडौँ, ८ मङ्सिर ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा गर्नुभएको छ ।
विद्यार्थी नेतृत्वको जनविद्रोहबाट १५ वर्ष लामो शासन अन्त्य भएपछि सन् २०२४ अगस्ट ५ मा भारत जानुभएकी हसिनाले स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताउनुभएको छ । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकाले उहाँ स्वदेश फर्किए पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।
हसिनाले आगामी डिसेम्बर १६ मा दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई आग्रह गर्नुभएको छ । उहाँका प्रवक्ता सैयद मोजाम्मेल अलीले हसिना बङ्गलादेशी विमानबाट भारत जानुभएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताउनुभएको छ ।
डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ । हसिनाले आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कन चाहेको उहाँका सहयोगीले बताएका छन् ।
यसअघि हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई रोक्न नसक्ने बताउनुभएको थियो ।
बङ्गलादेश सरकारले भने हसिनालाई दोषी ठहर गरिएको र उहाँको सुपुर्दगीका लागि भारतसँग माग गरिसकेको जनाएको छ । प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले सरकार आफ्नो अडानबाट पछि नहट्ने बताउनुभएको छ ।
हसिनाको सत्ता पतनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । उक्त सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि भएको निर्वाचनबाट तारिक रहमान नेतृत्वको सरकार गठन भएको हो ।
हसिनाले भने आफूविरुद्धको अदालतको फैसला अस्वीकार गर्दै आउनुभएको छ । मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्ने समयसीमा पनि समाप्त भइसकेको बताइएको छ । ०००००












प्रतिकृया दिनुहोस