बंगलादेशमा न्यूनतम ज्यालाको प्रस्ताव मजदुरद्वारा अस्वीकार
बिर्तामोड, ८ मंसिर ।
बंगलादेशका गार्मेन्ट मजदुर प्रतिनिधिहरूले रोजगारदाताले प्रस्ताव गरेको न्यूनतम ज्याला अस्वीकार गरेका छन् । सरकारी न्यूनतम पारिश्रमिक बोर्डको बैठकमा प्रस्तावित रकम मागभन्दा निकै कम रहेको भन्दै मजदुर प्रतिनिधिहरूले असहमति जनाएका हुन् ।
यससँगै केही सातादेखि जारी हडताल र प्रदर्शन थप लम्बिने देखिएको छ । हडतालका कारण चार हजारभन्दा बढी गार्मेन्ट कारखानामध्ये करिब पाँच सय बन्द भएका छन् ।
बोर्डका अध्यक्ष सैयद आजाद सुभानीका अनुसार रोजगारदाताले मासिक न्यूनतम ज्याला १४ हजार पाँच सय टाकाभन्दा बढी प्रस्ताव गरेका छन् । तर, मजदुरहरूले नियमित कामदारका लागि ३२ हजार र प्रशिक्षार्थीका लागि ३० हजार टाका माग गरेका छन् ।
वार्षिक ३८ अर्ब अमेरिकी डलर आम्दानी गर्ने बंगलादेशको गार्मेन्ट उद्योगमा करिब ४० लाख मजदुर कार्यरत छन् । देशको कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा यसै उद्योगले ओगट्छ ।
बढ्दो महँगीअनुसार ज्याला नबढेको भन्दै गत अक्टोबरदेखि आन्दोलन चर्किएको हो । गार्मेन्ट उत्पादक तथा निर्यातकर्ता सङ्घका अनुसार नोभेम्बर १ देखि १८ सम्म ३१७ कारखानाको उत्पादन अवरुद्ध हुँदा ४२ करोड ८० लाख डलर घाटा भएको छ ।
सन् २०२३ मा सरकारले १२ हजार पाँच सय टाका न्यूनतम ज्याला निर्धारण गरेको थियो । यसपटक मजदुरहरूले करिब १४० प्रतिशत वृद्धि मागेका छन् । उत्पादन बन्द हुँदा ज्याला रोक्न सकिने श्रम कानुनको प्रावधानले पनि विवाद थप जटिल बनेको छ ।

.jpeg)
.jpeg)









प्रतिकृया दिनुहोस