आइपीएल लिलामीमा नेपालका १० जना खेलाडी पनि दर्ताको सूचिमा 

काठमाडौं, ९ मंसिर । 
भारत र बङ्गलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी लिलामीका लागि १२ जना बङ्गलादेशी क्रिकेटरले नाम दर्ता गराएका छन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आज सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनीहरू समेटिएका हुन् । आगामी डिसेम्बर १६ मा गोवामा हुने मिनी लिलामीका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् ।
लिलामीअघि फ्रेन्चाइजी टोलीहरूले १८४ खेलाडी कायम राखेका वा छनोट गरिसकेका छन् । अब विदेशी खेलाडीका लागि २५ सहित अधिकतम ६६ स्थान भर्न बाँकी छ ।
भारत र बङ्गलादेशबीचको राजनीतिक तनावले क्रिकेट सम्बन्धसमेत प्रभावित हुँदै आएको छ । सुरक्षा चिन्ताका कारण भारतमा हुने ट्वान्टी–२० विश्वकप खेल्न अस्वीकार गरेपछि बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको थियो । यसअघि आइपीएल टोली कोलकाता नाइट राइडर्सबाट अनुबन्धित बङ्गलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाउन पनि बीसीसीआईले निर्देशन दिएको थियो ।
यसपटक लिलामीका लागि इङ्ग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले पनि नाम दर्ता गराएका छन् । उनको आधार मूल्य दुई लाख १६ हजार नौ सय अमेरिकी डलर तोकिएको छ ।
प्रारम्भिक सूचीमा सबैभन्दा धेरै ९३९ जना भारतीय खेलाडी छन् । अस्ट्रेलियाका ५३, दक्षिण अफ्रिकाका ४० र वेस्ट इन्डिजका ३६ खेलाडी छन् । यस्तै, नेपाल र संयुक्त अरब इमिरेट्सका १०–१० खेलाडीले नाम दर्ता गराएका छन् ।
लिलामीपछि फ्रेन्चाइजी टोलीहरूले आगामी आइपीएलका लागि आफ्नो टोलीलाई अन्तिम रूप दिनेछन् । ०००००
 

प्रतिकृया दिनुहोस