झापा–११ लाई हराउँदै एपिएफ महिला गोल्डकपको फाइनलमा
दुधे, ९ मंसिर ।
झापाको दुधेमा जारी दोस्रो झापा महिला गोल्डकपमा झापा–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा एपिएफले झापा–११ लाई २–० गोल अन्तरले हराएको हो । जितसँगै एपिएफले कम्तीमा पाँच लाख ५० हजार रुपैयाँ पुरस्कारसमेत सुरक्षित गरेको छ ।
एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुवै गोल गरिन् । उनले खेलको २६औँ मिनेटमा फ्रिकिकमार्फत पहिलो गोल र ३८औँ मिनेटमा मनमाया दमाईको पासमा दोस्रो गोल गरेकी हुन् ।
दोस्रो हाफमा झापा–११ ले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन । एपिएफको रक्षापङ्क्तिले झापाका आक्रमणलाई विफल बनाएको थियो ।
खेलको प्लेयर अफ द म्याच एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
अब भोलि हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ०००००

.jpeg)









प्रतिकृया दिनुहोस