निर्वाचन प्रणाली सुधार गरेर विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल
ललितपुर, ११ मंसिर ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन प्रणाली सुधार, अनुसन्धान र प्रमाणमा आधारित नीतिनिर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
निर्वाचन आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि आज ललितपुरमा आयोजित सरोकारवालासँगको परामर्श बैठकमा उहाँले निर्वाचन व्यवस्थापनलाई विकेन्द्रीकरण गर्ने, बदर मत घटाउने र भूगोलअनुसार मतदाता तथा जनसङ्ख्याबीचको असमानता हटाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
पोखरेलले विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदान अधिकार सुनिश्चित गर्न, निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउन, निर्वाचन खर्च पारदर्शी बनाउन र राजनीतिक दललाई जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले निर्वाचनमा प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षा, मतदाताको गोपनीयता, डिजिटल पहुँच र साक्षरतामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कृत्रिम बुद्धिमत्ता, सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट फैलिने गलत सूचनालाई नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौती रहेको उहाँको भनाइ छ ।
स्थानीय तहबाट मतदाता नामावली सङ्कलन, निर्वाचन शिक्षा, मतदानस्थल व्यवस्थापन र कर्मचारी परिचालन गर्न सके निर्वाचन व्यवस्थापन सहज हुनुका साथै खर्चसमेत घटाउन सकिने उहाँले बताउनुभयो ।
यसैबीच, निर्वाचन आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको मध्यावधि मूल्याङ्कनले देखाएको छ ।
आयोगका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको विवरणअनुसार कुल १४६ क्रियाकलापमध्ये २४ प्रतिशत पूर्ण, ४२ प्रतिशत आंशिक र ३४ प्रतिशत कार्यान्वयन हुन बाँकी छन् ।
पहिलो दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ क्रियाकलापमध्ये नौवटा पूर्ण, १६ वटा आंशिक र १० वटा कार्यान्वयन हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
आकस्मिक रूपमा प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछि आयोगको प्राथमिकता निर्वाचन सञ्चालनमा केन्द्रित हुँदा रणनीतिक योजना प्रभावित भएको, बजेट अभाव, कानुन निर्माणमा ढिलाइ र स्रोतसाधनको कमीले पनि प्रगतिमा असर पारेको उहाँले बताउनुभयो ।
आयोगको उक्त रणनीतिक योजना आर्थिक वर्ष २०८१÷८२ देखि २०८५÷८६ सम्मका लागि तयार गरिएको हो । पाँचवर्षे योजनामा संस्थागत सुदृढीकरण, राजनीतिक दलको नियमन, मतदाता नामावली तथा निर्वाचन शिक्षा, प्रविधियुक्त निर्वाचन व्यवस्थापन र अन्तरनिकाय समन्वय गरी पाँच रणनीतिक स्तम्भ, ३० कार्यनीति र १४६ क्रियाकलाप समावेश छन् । योजनाका लागि करिब २५ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
आयोगले आगामी दिनमा निर्वाचनसम्बन्धी कानुन सुधार, २०८४ सालका विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षा सुदृढीकरण र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने जनाएको छ । ०००००



.jpeg)
...jpeg)





प्रतिकृया दिनुहोस