किस्ट अस्पतालले मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने
ललितपुर, १२ मंसिर ।
ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालले भारतको मेदान्ता अस्पतालसँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ ।
किस्ट अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा मुटु तथा छातीसम्बन्धी शल्य चिकित्साका आधुनिक प्रविधि, उपचार पद्धति र अनुभव आदानप्रदानबारे जानकारी दिइएको हो ।
कार्यक्रममा मेदान्ता अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. नरेश त्रेहानले किस्ट अस्पतालमार्फत मुटु र छातीसम्बन्धी शल्य चिकित्साका नवीनतम प्रविधि र उपचार पद्धति भित्र्याउन सहकार्य गरिने बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोगले उपचारलाई प्रभावकारी बनाएको उल्लेख गर्दै एआई चिकित्सकको विकल्प नभई रोग पहिचान, उपचार योजना र शल्यक्रियाको तयारीमा सहयोगी औजार भएको बताउनुभयो ।
किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालको स्वास्थ्य सेवा गुणस्तरीय र आधुनिक बनाउन सहयोग पुगेको बताउनुभयो । अस्पतालले पहिलो बाल कलेजो प्रत्यारोपण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा मेदान्ताको प्राविधिक तथा शैक्षिक सहयोगमा मुटु–फोक्सो प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
दुई अस्पतालबीचको सहकार्यले जटिल स्वास्थ्य समस्याको उपचारका लागि भारत जानुपर्ने बाध्यता घटाउनुका साथै बिरामीको समय र खर्च बचतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ०००००




...jpeg)





प्रतिकृया दिनुहोस