प्रधानमन्त्री कार्यालयको ११ दिनको प्रगति विवरण सार्वजनिक
काठमाडौं, ११ मंसिर ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्सिर १ देखि ११ गतेसम्म भएका कामकारबाही र प्रगति विवरण सार्वजनिक गरेको छ ।
आज पत्रकार सम्मेलन गरी कार्यालयले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, सुशासन, लगानी प्रवद्र्धन, सार्वजनिक खरिद र प्रशासनिक सुधारलगायत क्षेत्रमा भएका काम सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको पुनःस्थापना तथा सामाजिक संरक्षणका लागि तयार गरिएको एकीकृत प्याकेज कार्यान्वयनको समीक्षा गरिएको छ । साथै नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।
यसैबीच, ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको थियो । आयोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान भइसकेको छ । सन् २०३० डिसेम्बरदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले यस अवधिमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्शसमेत दिएको छ ।
त्यस्तै, सरकारले सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ स्वीकृत गरी जारी गरेको छ ।
सुशासन र अनुगमनतर्फ राष्ट्रिय सतर्कता केन्द्रले चितवन, मकवानपुर, सिन्धुलीलगायत जिल्लामा प्राविधिक परीक्षण तथा विभिन्न जिल्लामा सरकारी कार्यालयको सेवा प्रवाह र कर्मचारीको आचारसंहिता पालनासम्बन्धी अनुगमन तीव्र बनाएको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले सूचना प्रविधि क्षेत्रको लगानी सहजीकरण, राष्ट्रिय दूरसञ्चार नीति परिमार्जन, साइबर सुरक्षा तथा सरकारी सेवा प्रणाली सुधारका कामसमेत अघि बढाएको छ । केही समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली पनि प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ ।
यसैगरी, नेपाल ट्रष्टको स्वामित्वमा रहेको धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी जग्गाको संरक्षण र व्यावसायिक उपयोगबारे अध्ययन भइरहेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गते बिहानसम्म १८ अर्ब ६२ करोड ८९ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । ०००००



.jpeg)
...jpeg)





प्रतिकृया दिनुहोस