कांग्रेसको देउवा समूहलाई पार्टीका आधिकारिक प्रतीक प्रयोग नगर्न गगन कांग्रेसको आग्रह
काठमाडौं, १२ मंसिर ।
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीको नाम, चुनाव चिह्न र आधिकारिक झण्डा अनधिकृत रूपमा प्रयोग गरेर गतिविधि सञ्चालन नगर्न आग्रह गरेको छ ।
देउवा समूहले रुख चुनाव चिह्न र चारतारे झण्डा प्रयोग गरी महाधिवेशन गर्न लागेको विषयमा कांग्रेस केन्द्रीय कार्यसमितिले आपत्ति जनाएको हो ।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नगर्न सम्बन्धित समूहलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा रुख चुनाव चिह्न प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि भइरहेको भन्दै कांग्रेसले यस्ता कार्यले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पु¥याएको जनाएको छ ।
यस्ता गतिविधिले पार्टीका सदस्य, शुभेच्छुक तथा आम नागरिकमा भ्रम सिर्जना भइरहेको भन्दै कांग्रेसले पार्टीको आग्रहविपरीतका गतिविधिमा सहभागी नहुन सबैलाई अपिल गरेको छ ।
पार्टीको आधिकारिक प्रतीक प्रयोग गरी अनधिकृत गतिविधि सञ्चालन गर्ने तथा सामाजिक सञ्जालमार्फत त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत कांग्रेसले गरेको छ । ०००००



.jpeg)
...jpeg)





प्रतिकृया दिनुहोस