अर्थतन्त्रले सकारात्मक लय लिएको छ : प्रधानमन्त्री दाहाल

बिर्तामोड, १८ चैत ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । 
मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन् । अर्थतन्त्र चलायमान र दबाबमुक्त पनि भएको छ ।’
नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पार्नुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताउनुभयो ।
आगामी आर्थिक वर्षमा मधेस प्रदेशका लागि नयाँ र विशेष ‘प्याकेज’ तयार गर्न आफूले निर्देशन दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मधेस प्रदेशको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयलाई केन्द्रित गरेर प्याकेज तयार गर्न मैले निर्देशन दिएको छु, यस पटक मधेसमा नयाँ हुन्छ ।’  ००००००००
 

प्रतिकृया दिनुहोस