लीलादेवी गड्तौला बन्नुभयो पहिलो महिला मुख्यसचिव

बिर्तामोड, १० साउन ।
सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।
गड्तौलालाई एक महिनाका लागि भए पनि मुख्यसचिव नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा पहिलो पटक महिलाले नेतृत्व पाएको हो । मुख्य सचिव डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायरपछि उहाँ निलम्बनमा हुनुहुन्छ । अर्याललाई गत असार १० गते राष्ट्रिय योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरेर पठाइएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निमित्त मुख्य सचिवको नेतृत्वको दिएकोमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वरिष्ठताको आधारमा लीलादेवीलाई कामुको जिम्मेवारी दिइएको हो ।
२०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी उहाँ आउँदो भदौ १५ गते उमेर हदका कारण अवकाशमा जादैहुनुहुन्छ । त्यसैले अब गड्तौलाले करिब ३५ दिन मुख्यसचिवको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पनि गड्तौलाले नै पाउनुभएको हो । ०००००००० 

प्रतिकृया दिनुहोस