मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री

काठमाडौँ, ११ साउन ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र विकासको योजना कार्यान्वयन नमूनायोग्य बन्न सक्नुपर्ने बताउनुभएको छ । 
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “नवनियुक्त पदाधिकारीमा हार्दिक बधाइ एवम् शुभकामना । तपाईहरुको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस् । नयाँ उचाइ हासिल हुन सकोस् ।”
उहाँले मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजनालाई समृद्ध नेपालका नीति तथा गन्तव्यसँग तालमेल गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेछ । उत्पादन वृद्धि र मानवीय एवम् भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ । तपाईंहरुले समन्वयात्मक रूपमा काम गर्नुहोला ।”
उहाँले सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन पाउनु राम्रो रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस