नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान : मुख्यमन्त्री कार्की

बिर्तामोड, ३ असोज ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ ।
आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले  संविधानको पूर्ण कार्यान्वयनबाट सङ्घीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नुभयो– ‘मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ ।’
लामो सङ्घर्षपछि संविधान सभाले विश्वकै उत्कृष्ट संविधान बनाएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘नेपाली जनताको संघर्ष र बलिदानको माध्यमबाट बनेको यो नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता हो ।’
उहाँले कतिपय सन्दर्भमा संविधानका केही विषयमा प्रश्नहरु उठ्ने गरेका चर्चा गर्दै त्यस्ता विषयहरु आम सहमति, सहकार्य र एकताको माध्यमबाट संविधानको मूलमर्मलाई जोगाएर टुंग्याउनु पर्ने धारणा राख्नुभयो । प्रदेशलाई समृद्ध  र बलियो बनाउनका लागि आवश्यक पहलकदमी लिँदै संघीय सरकारसँग समन्वय गरिरहेका उहाँले बताउनुभयो । देशका दुई ठुला राजनीतिक शक्तिहरुबीचको सहकार्यबाट पनि नागरिकहरुमा उत्साह छाएको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
स्वच्छ, समुन्नत र सुखी प्रदेशबासीको दीर्घकालीन प्रादेशिक सोचलाई पूरा गर्ने सङ्कल्पका साथ कोशी प्रदेश सरकार अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न,राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन र राजनीतिक स्थिरता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  ०००००००
 

प्रतिकृया दिनुहोस