आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको प्रशिक्षक तामाङको घोषणा

विर्तामोड, २७ असोज ।
राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको बताउनुभएको छ ।
यसै हप्ता काठमाडौंमा सुरु हुने महिला साफ फुटबलको तयारीमा रहनुभएका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने उल्लेख गर्नु भएको हो ।
‘हामीले पछिल्ला ११ फाइनल हारिसकेका छौं । तर, यस साफ फुटबलमा स्वर्ण पदक जित्ने लक्ष्य राखेका छौं र सोही अनुसार तयारी गरेका छौं’, तामाङले भन्नुभयो ।
निरन्तरको फाइनल हारले खेलाडी, व्यवस्थापनको मनोबल उच्च नहुने बताउँदै प्रशिक्षक तामाङले आसन्न साफमा जसरी पनि उपाधि जित्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।
‘हामीले बंगलादेश, भारतलाई जित्न सक्दैनौं भन्ने छैन । भारत र बंगलादेशलाई हराएका पनि छौं’, उहाँले भन्नुभयो ।
काठमाडौंमै भएको पछिल्लो महिला साफको फाइनलमा नेपाल बंगलादेशसँग पराजित बनेको थियो । सेमिफाइनलमा भारतलाई हराए पनि नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्न सकेन ।
प्रशिक्षक तामाङले घरेलु मैदानमा हुने दर्शकको सपोर्टले खेलाडीलाई बेग्लै उर्जा दिने बताउनुभयो ।
आसन्न साफमा दर्शकको समर्थन आवश्यक हुने उल्लेख गर्दै तामाङले भन्नुभयो, ‘दर्शकको समर्थनले टिमलाई सकारात्मक तरिकाले सहयोग गरिरहेको हुन्छ । खेल्ने शैलीमा परिवर्तन हुन्छ । खेलाडीमा बेग्लै उर्जा प्राप्त हुन्छ ।’
महिला साफ फुटबल आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुदैछ । प्रतियोगिता खेल्न सहभागी टिम नेपाल आउने क्रम सुरु भएको छ । आज पहिलो टोलीको रुपमा पाकिस्तानले काठमाडौंमा पाईला टेकेको छ । ००००००
 

प्रतिकृया दिनुहोस