साफ वुमन्स च्याम्पियनसिपमा उपाधिको खडेरी तोड्ने नेपालको इच्छा 

विर्तामोड, ३० असोज ।
नेपालले लगातार तेस्रो पटक साफ वुमन्स च्याम्पियनसिप आयोजना गर्दैछ । च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच हुनेछ ।
समूह बी मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेलमा पर्सि शुक्रबार भुटानसँग खेल्नेछ । प्रतियोगिताका लागि सबै टोली काठमाडौं आइसकेका छन् । प्रतियोगिताको अघिल्लो दिन आयोजित प्रि–म्याच कन्फेरेन्समा सहभागी ७ वटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए ।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताउनुभयो । ‘महिला लिगले गर्दा तयारीका लागि धेरै काम गर्न पाएनौं, तर हामी च्याम्पियनसिपका लागि तयार छौं’, प्रशिक्षक तामाङले भन्नुभयो, ‘यसअघि नेपालले डिफेन्समा गल्तीले गर्दा फाइनलमा हारेको थियो । यसपटक हामीले डिफेन्समा सुधार गरेका छौं ।’
तामाङ सन् २०२२ को संस्करणमा नेपाली टोलीमा सहायक प्रशिक्षक हुनुहुन्थ्यो । त्यतिबेला भारतलाई हराएर फाइनलमा पुगेको नेपाल बंगलादेशसँग पराजित हुन पुगेको थियो ।
नेपाल यो पटक उपाधिको खडेरी तोड्न चाहन्छ । विजेता बंगलादेश उपाधि रक्षा गर्ने योजनामा हुनेछ ।
पाँचौ संस्करणसम्म अपराजित रहँदै च्याम्पियन बनेको भारत आफ्नो पुरानै लय फर्काउन चाहन्छ । मुख्यतः यही तीन टिमलाई उपाधिको दाबेदार मानिएको छ ।
नेपाली टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक टिम सन्तुलित रहेको बताउनुभयो । ‘सबै टिमले कडा मिहिनेत गरेका छन्, हामीले पनि कडा मिहिनत गरेका छौं’, उहाँले भन्नुभयो, हामी च्याम्पियन बन्नकै लागि खेल्ने हो, ट्रफी घरमै राख्ने प्रयास गर्नेछौं ।’
एन्जिलाको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोलीमा डिफेण्डर सजनी थोकर नयाँ अनुहारको रुपमा छन् ।
सविता राना मगरले पहिलो पटक साफ वुमन्स च्याम्पियनसिप खेल्न सक्छिन् भने मिडफिल्डर रेनुका नगरकोटे र डिफेण्डर पूजा रानाले साफ च्याम्पियनसिपमा पुनरागमन गरेका छन् ।
सन् २०१९ मा विराटनगरमा भएको पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप खेलेका रेनुका र पूजा चोटका कारण २०२२ मा टिममा थिएनन् । पछिल्लो पटक २०२२ मा साफ खेलेका पुनम जर्घा मगर, दिपा राई र इन्दिरा राईले सन्यास लिइसके भने मिडफिल्डर मञ्जली कुमारी योन्जन टिममा अटाइनन् ।
साविक विजेता बंगलादेश र पाँच पटकको च्याम्पियन भारतका प्रशिक्षक र कप्तानले पनि च्याम्पियनसिप खेल्न उत्साहित रहेको बताउनुभयो । भारतीय प्रशिक्षक सन्तोष कश्यपले अट्याकिङ फुटबलमार्फत सबैलाई मनोरन्जन दिने बताउनुभयो ।
कात्तिक १४ गतेसम्म हुने च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइनेछ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ भने समूह बी मा घरेलु टोली नेपालसहित भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।
समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । ०००००
 

प्रतिकृया दिनुहोस