उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

काठमाडौँ, ६ कात्तिक ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन गर्नुभएको छ । 
आज मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै उहाँले अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गर्नुभएको हो । समितिको सदस्यमा स्वास्थ्यविद् डा. अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहनुभएको छ ।
समितिलाई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुनेगरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सुझाव दिन कार्यादेश दिइएको छ । यस्तै, छिमेकी देशहरूले अपनाइएका औषधिको मूल्यसम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी मूल्य निर्धारणसम्बन्धी आधार पहिचान गरी नीतिगत सुधारका लागि सुझाव दिन पनि भनिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले समितिले औषधिका मूल्यसम्बन्धी अभ्यास पुनरावलोकन गरेर गुणस्तर पहिचानका लागि सुझाव दिन कार्यजिम्मेवारी दिइएको बताउनुभयो । “औषधिको मूल्यसँग सम्बन्धित नीतिगत प्रणाली, बजार मूल्य, आयात निर्यातको अवस्था तथा सरकारी नीति, मूल्य निर्धारण गर्नुपर्ने थप औषधिहरूको सूची र प्रस्तावित अधिकतम खुद्रा मूल्यसम्बन्धी आधारसहित सुझाव दिनेछ”, उहाँले भन्नुभयो । 
कार्यसम्पादनका लागि आवश्यक कार्यविधि समिति आफैँले निर्धारण गरेर आवश्यकता अनुसार विषयगत उपसमिति गठनलगायत काम गर्नसक्ने जनाइएको छ । समितिको सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णय लिने प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस