टेवा नेपालद्वारा देशभरका २० संघ संस्थाका प्रतिनिधिलाई संस्थागत क्षमता अभिबृद्वि तालिम

विर्तामोड, १२ मंसिर ।
महिला आवद्व संघ संस्थाहरूको संस्थागत क्षमता अभिबृद्विका लागि काठमाडौंमा तीनदिने तालिम शुरू भएको छ । 
महिलाको शसक्तिकरण तथा संस्थागत विकासका लागि काम गर्दै आएको संस्था  टेवा नेपालले देशभरबाट अनुदान छनौटमा परेका २० वटा संघ संस्थाका ४० जना पदाधिकारी तथा प्रतिनिधि सहभागीलाई तालिम दिईएको हो ।
तालिमको पहिलो दिन टेवा नेपालकी संस्थापक रिता थापाले प्राकृतिक रूपमा अद्भूत क्षमता भएका महिलाहरू सामाजिक संरचनागत सोचका कारण पछि परेको उल्लेख गर्दै आफूमा भएको क्षमतालाई चिनेर अघि बढ्न उत्प्रेरित गर्नुभयो । समाजमा समान रूपमा बाँच्न र अधिकार प्राप्त गर्न महिलाले अहिले पनि संघर्ष गर्नु परिरहेको तितो यथार्थ रहेको बताउनु भयो । 
राजनीतिमा महिला सहभागिताबारे संविधानमै सुनिश्चित भएपनि कार्यान्वयनमा आउन नसक्नु दु:खद भएको धारणा राख्दै आगामी स्थानीय निर्वाचनमा प्रमुखमा कम्तिमा १५ प्रतिशत महिला निर्वाचित गर्ने गरि सामाजिक क्षेत्रमा क्रियाशिल महिलाले शसक्त रूपमा अभियान चलाउनु पर्ने बताउनु भयो । पालिकाको प्रमुखमा महिला  सहभागी बढाउन  थापासहित सामाजिक क्षेत्रका अगुवा महिलाहरूले अनुपम अभियान नै सञ्चालन गर्दै आएका छन् । 
तालिममा टेवाले अन्य संघ संस्था बलियो बनाउन विभिन्न ४ किसिमका सहयोग गर्दै आएको छ । सकेसम्म नेपालबाटै सहयोग जुटाएर महिला शसक्तिकरणका लागि अनुदान सहयोग गर्दै आएको संस्थाले  शिक्षा, स्वास्थ्य, कानुनी अधिकार, सामाजिक, राजनीतिक, सिमान्तकृत, यौनिक अल्पसंख्यक,अपाङ्गता, पिछडिएका क्षेत्रका महिलाको आर्थिक शसक्तिकरण, वातावरणीय क्षेत्र सुधार, महिलावादी मानवीय सहायता, महिलावाली आन्दोलन सुदृढीकरण लागि प्रोत्साहन गर्दै आएको छ । 
तालिममा अनुदानका प्रकार, नेतृत्व विकास र हस्तान्तरण (मेन्टर) सामुदायिक सुरक्षा जालो परियोजना, टेवाको अर्थ संकलनको आधार र योगदान लगायतका विषयमा जानकारी दिइएको छ ।
टेवाले सम्मान अनुदान, आधार अनुदान, सुरक्षा अनुदान र संस्थापिका कोष अनुदान जस्ता अनुदान पनि दिंदै आएको छ । तालिमको पहिलो दिन टेवा नेपालकी अनुदान अधिकृत अनुजा श्रेष्ठ, अध्ययन अनुगमन तथा मूल्यांकन अधिकृत मुना पोखरेल, संस्थागत अनुदान संकलन (स्रोत व्यवस्थापन) सम्बन्धि बसन्ती लामाले सहजीकरण गर्नुभएको थियो । 
२९ वर्ष अगाडि थापाको परिकल्पनामा स्थापना भएको टेवाले हालसम्म देशभरका ७६ वटा जिल्लाका ६६४ वटा महिला मात्र आवद्व संघसंस्थालाई अनुदान प्रदान गरेको जनाएको छ । ००००००००००

प्रतिकृया दिनुहोस