दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना हो : प्रधानमन्त्री ओली

बिर्तामोड, २३ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । 
विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।
उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो । 
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार रुपैयाँ लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।
भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी रहनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
यस्तै,
प्रधानमन्त्री ओलीले मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको आज उद्घाटन तथा बृहत गुरुयोजनाको शिलान्यास गर्नुभएको छ ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई विगाह पाँच कठ्ठा जमिन निःशुल्क प्रदान गर्नुभएको छ । सोही जमिनमा निर्माण गरिएको आश्रमको उद्घाटन प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले गर्नुभएको हो । शाक्य मानव सेवा आश्रमको संरक्षक हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै मावनताभन्दा ठूलो अर्को सिद्धान्त नभएको बताउनुभयो । उहाँले आश्रमले मानवताको क्षेत्रमा उत्साहजनक काम गर्दै आएकोमा प्रशंसा गर्दै आफ्नो एक महिनाको पारिश्रमक समेत भवन निर्माणका लागि प्रदान गर्नुभएको छ । “म मेरो एक महिनाको तनाखा भवन निर्माणमा दान गर्छु”, प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “सम्भवत पछि आउने मेरो पनि यही आश्रम हो कि ?” 
उहाँले परिवारबाट परित्यक्त सडकमा अलपत्र मानिसहरुलाई सेवा दिने आश्रमका लागि आफ्नो सम्पूर्ण सम्पति दान गर्नुहुने दाता मानुभावहरु धन्यवादको पात्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले जुनसुकै काममा असुन्तुष्टि पोख्न र गाली गर्न सजिलो भए तापनि काम गर्न गाह्रो हुने बताउनुभयो ।
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित हुनुहुन्छ । यो संस्थाको १९ औं जिल्ला शाखा हो ।  ०००००००००००

प्रतिकृया दिनुहोस