महिला हिंसामा कमी ल्याउन मेलमिलाप र आपसी सहकार्यको आवश्यकता

बिर्तामोड, २४ मंसिर ।
महिला हिंसामा कमी ल्याउनका लागि मेलमिलाप र आपसी सहकार्यको आवश्यकता रहेको  राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेतले बताउनु भएको छ । 
अन्तर पार्टी महिला सञ्जालद्वारा आज बिर्तामोडमा आयोजित झापामा लैंगिक हिंसाको अवस्था र स्थानीय सरकारको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिंसाका घटनामा कमी ल्याउन सबै राजनीतिक दल र समाजको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित वक्ताहरूले महिला हिंसा मात्रै नभएर पुरुष र तेस्रो लिंगी माथि पनि हिंसा भइरहेको भन्दै न्यायका लागि संघर्ष गर्न आवश्यक रहेको भनाई राख्नुभयो । उहाँहरुले न्यायपालिका लगायत सबै क्षेत्रहरूमा महिलाको उपस्थिति हुनुपर्ने बताउनुभएको छ ।
अधिवक्ता कविता बास्तोलाले “लैंगिक हिंसा” को परिभाषा र यसको प्रचलनका विषयमा जानकारी दिनुका साथै महिला, पुरुष, र तेस्रो लिंगी सबैको अधिकार र सुरक्षाका लागि उपयुक्त कानूनी कार्यवाहीहरू अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।
गोमा भट्टराईले अध्यक्षता गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेत हुनुहुन्थ्यो । उपाध्यक्ष द्रौपदी गणेशले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा कार्कीले गर्नुभएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमाँगाई, माओवादी जिल्ला इन्र्चाज सिपी कडरीया लगायत राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  ०००००००००
 

प्रतिकृया दिनुहोस