निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा १० जना विद्यार्थी पुरस्कृत
बिर्तामोड, २९ मंसिर ।
झापाको विर्तामोड–१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश’ शीर्षकको निबन्ध प्रतियोगिताका विजयी प्रतियोगीलाई आज विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच नगदसहित सम्मान गरेको हो ।
निबन्ध प्रतियोगितामा प्रथम हुने देवी माध्यमिक विद्यालयकी छात्रा ज्योति ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माविकी छात्रा सन्ध्या खतिवडालाई प्रतिष्ठानले क्रमशः ७० हजार, ५० हजार र ३० हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको थियो ।
यसैगरी छात्रा निर्जला आचार्य, दीप्ति सुवेदी, तृषा सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला, छात्र सौगात खनाल र रोहन सुनुवारलाई नगद ७ हजारसहित सान्तवना पुरस्कारका साथ सम्मानपत्रले सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलगायतले विजेता प्रतियोगीलाई सम्मान गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष ओलीले स्वागतसहित औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव माधव विद्रोहीले गर्नुभएको थियो ।
निता भेटवालका पिता तथा प्रतिष्ठानका संरक्षक विष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छाअनुरुप अतिविपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययनमा सहयोग गर्दै आएको बताउनुभयो । भेटवालले आमाबुवा नभएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेसमेत बताउनुभएको छ । उहाँले विपन्न परिवारका पढ्न चाहेर पनि नसकेका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोगका साथै थप उच्च अध्ययनका लागि समन्वय गर्ने र गरिँदै आएको बताउनुभयो । प्रतिष्ठानले विपन्न परिवारका ११ जना विद्यार्थीलाई विर्तामोडकै एक निजी विद्यालयमा ती विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी पढाइरहेको प्रतिष्ठानका सचिव माधव विद्रोहीले बताउनुभयो ।
व्रेन ट्युमरका कारण २५ वर्षकै उमेरमा ज्यान गुमाएकी निताको स्मृतिमा उहाँका बुबा विष्णुप्रसाद र आमा विष्णुमाया भेटवालले प्रतिष्ठान स्थापना गर्नुभएको हो ।
समारोहमा प्रमुख अतिथि मन्त्री कार्की, अर्जुनधारा नगरपालिकाका प्रमुख मेयर बलदेव सिंह गोम्देन परिवारका सदस्य अमरदीप भेटवाललगायतले प्रतिष्ठानले शिक्षा क्षेत्रमा अत्यन्त उपयोगी कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
निवन्ध प्रतियोगिता संयोजन समितिका सदस्य डा. ठाकुरप्रसाद पोखरेलले निबन्ध प्रतियोगिता सञ्चालनका विषयमा जानकारी गराएको कार्यक्रममा निवन्ध प्रतियोगिताका बिजेताहरुको नाम शिक्षासेवी होम सुवेदीले घोषणा गर्नुभएको हो । ००००००००००
प्रतिकृया दिनुहोस