झापा कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मीको विजयी सुरुवात

बिर्तामोड, २९ मंसिर ।
झापा कप २०८१ को भव्य शुभाराम्भ भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले झापा कप स्तरीय क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्ने बताउनुभयो ।
उहाँले प्रदेशको स्रोतले भ्याएसम्म यो प्रतियोगितालाई सहयोग गर्ने वचनबद्धता समेत प्रकट गर्नुभयो । उहाँले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको सुनाउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकाराज कार्की, नेपाली कांग्रेसका झापा सभापति देउमान थेवे, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, कोशी प्रदेशसभा सदस्य छवि चुडाल, जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, विर्तामोडका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।  
यसैबीच,
झापाको बिर्तामोडमा आजदेखि सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए ।
आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् ।
मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चौधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् ।
खेलमा मोरङले खासै मुभ बनाउन सकेन । खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।
आजको खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
भोलिको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।
आजदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ । ०००००००
 

प्रतिकृया दिनुहोस