सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो
काठमाडौँ, ७ पुस ।
लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो ।
उक्त तथ्याङ्क अनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६ दशमलव पाँच प्रतिशतले बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सुरुआती पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात तीन प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात १६ दशमलव ५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ पुगेको छ । आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ ।
मङ्सिर मसान्तसम्ममा कुल सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा चार दशमलव २१ प्रतिशतले बढेको हो ।
मङ्सिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेल, २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको पेट्रोल र २४ अर्ब २२ करोड ९१ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै, २० अर्ब ९६ करोड रुपैयाँ बराबरको फलामजन्य वस्तु र १० अर्ब ३५ करोड ६१ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।
सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन् । पाँच महिनामा आठ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ बराबरको भटमास तेल, चार अर्ब ९६ करोड ३३ लाख रुपैयाँ बराबरको कार्पेट, तीन अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको अलैँची, दुई अर्ब ९७ करोड ६१ लाख रुपैयैयाँ बराबरको सूर्यमुखी तेल र दुई अर्ब ७१ करोड २६ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको भन्सार विभागद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । ०००००
प्रतिकृया दिनुहोस