चीनले तिब्बतमा विश्वकै विशाल बाँध र जलविद्युत बनाउने

विर्तामोड, ११ पुस ।
चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृति दिएको छ । तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ जाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि संसारकै ठूलो बाँध र जलविद्युत परियोजनाको रुपमा चीनकै थ्री गर्जेज बाँध रहेको छ ।
थ्री गर्जेजले २२ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्छ । अब तिब्बतमा बन्ने नयाँ आयोजना थ्री गर्जेजभन्दा तीन गुणा ठूलो हुनेछ । यसले ३० करोड जनसङ्ख्याको विद्युत् माग पूरा गर्ने खबरमा उल्लेख छ । चीनको पावर कन्स्ट्रक्सन कर्पले सन् २०२० मा दिएको अनुमान अनुसार नदीको तल्लो भागमा निर्माण हुने यो बाँधले वार्षिक तीन खर्ब किलोवाट घण्टा बिजुली उत्पादन गर्न सक्छ ।
यो परियोजनाले चीनको कार्बन तटस्थताका लक्ष्यहरू पूरा गर्न, इन्जिनियरिङ उद्योगहरूलाई प्रोत्साहित गर्न र तिब्बतमा रोजगारी सिर्जना गर्न प्रमुख भूमिका खेल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यार्लुङ झाङबो नदीलाई दुई किलोमिटर तल झारेर बिजुली उत्पादन हुनेछ । जम्मा ५० किलोमिटर लम्बाई प्रयोग गरेर नदीलाई दुई किलोमिटर तल झार्नु एउटा कठिन वैज्ञानिक र इन्जिनियरिङ परीक्षण हुने विश्लेषकले बताएका छन् ।
थ्री गर्जेजको लागत झन्डै ३५ अर्ब डलर रहेकोमा तिब्बतमा बन्ने संसारकै ठूलो बाँध र जलविद्युत आयोजनाको लागत एक खर्ब डलर हुन सक्ने अनुमान छ । थ्री गर्जेज आयोजना बन्दा १४ लाख जना मानिस विस्थापित भएकोमा नयाँ परियोजनामा कति मानिस विस्थापित हुन्छन् भनेर चीन सरकारले सार्वजनिक गरेको छैन ।
भारत र बंगलादेशले बाँधको बारेमा चिन्ता व्यक्त गरेका छन् । परियोजनाले स्थानीय पारिस्थितिकीय प्रणाली मात्र नभई नदीको प्रवाहलाई पनि परिवर्तन गर्न सक्ने उनीहरुको चिन्ता छ । यार्लुङ झाङबो नदी तिब्बत छोडेर दक्षिण भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बङ्गलादेशमा बग्दा ब्रह्मपुत्र नदी बन्छ । ०००००
 

प्रतिकृया दिनुहोस