समुदायको सक्रियतामा हाब्रे संरक्षणको पहल
पाँचथर, ४ माघ ।
लोपोन्मुख वन्यजन्तु रातो हाब्रे (रेड पान्डा) संरक्षणका लागि समुदायको सक्रियतामा बढाउन पहल भइरहेको छ ।
दातृ संस्था रातोहाब्रे नेटवर्कको पाँचथर र इलाममा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको दीपज्योति युवा क्लबले समुदायको सक्रियतामा हाब्रे संरक्षण अभियान चलाइरहेको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समिति, वन अभिभावक, चौँरीपालक तथा गोठाला, विद्यार्थीलगायतलाई हाब्रे संरक्षणमा सक्रिय बनाइएको छ । संरक्षणसँगै सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवद्र्धन र क्षमता विकासका काम विगत १३ वर्षदेखि सञ्चालन भइरहेको छ ।दीपज्योति युवा क्लबले रेड पान्डा नेटवर्कको सहयोगमा पाँचथरका फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिका तथा इलामका सन्दकपुर र माईजोगमाई गाउँपालिका तथा देउमाई, सूर्योदय र इलाम नगरपालिकामा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । यी स्थानीय तहमा नौवटा सामुदायिक वनमा हाब्रेको रेखदेख तथा संरक्षण कार्य हुने गरेको छ । रेखदेखको कार्यमा रातोहाब्रे संरक्षण कार्यक्रमअन्तर्गत नियुक्त भएका वन अभिभावकहरूले कार्य गर्ने गरेका छन् । पाँचथरमा १४ र इलाममा सातजना वन अभिभावक सक्रिय छन् । वन अभिभावकहरूले वन संरक्षणसँगै प्रत्येक चार महिनामा हाब्रेको बासस्थानको अनुगमन गर्ने, हाब्रेको तथ्याङ्क सङ्कलनलगायत काम गर्ने गर्दछन् ।
रेड पान्डा संरक्षण कार्यक्रमअन्तर्गत हाब्रेको बासस्थानको नियमित अनुगमन, क्यामेरा ट्र्याप प्रयोग गरी हाब्रे तथा अन्य जङ्गली स्तनधारी जनावरका सर्वेक्षण र अनुगमन हुने गरेको छ । यस्तै, सामुदायिक वनमा चोरी–सिकार विरोधी गस्ती सञ्चालन, स्थायी अनुगमनस्थल निर्माण गरिएका छन् । सन् २०२४ मा पाँचथरमा नौवटा चोरीसिकारी विरोधी गस्ती गरिएका छन्भने इलामको जौबारीमा १९ वटा स्थायी अनुगमनस्थल निर्माण गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।
यसैगरी, पाँचथरका नौ र इलामका पाँच गरी १३ वटा विभिन्न सामुदायिक विद्यालयका ८४ विद्यार्थीलाई रातो हाब्रे संरक्षण छात्रवृत्ति वितरण गरिएको छभने वन संरक्षकका बालबालिकालाई २७ सेट छात्रवृत्ति वितरण गरिएको उहाँले जानकारी दिनुभयो । इलाम र पाँचथरका १४ वटा सामुदायिक विद्यालयहरूमा वातावरण संरक्षण शिक्षा अध्ययन हुँदै आएको छ । यी विद्यालयको कक्षा ६ र ७ मा हाब्रेको संरक्षणबारे जानकारी दिने शिक्षण हुँदै आएको छ । सो शिक्षणमा संलग्न शिक्षकहरूलाई रातो हाब्रे नेटवर्कले आर्थिक सहयोग गर्ने गरेको छ । विद्यालयले विद्यालयको आन्तरिक स्रोतबाट नियुक्त गरेका शिक्षकहरूलाई अतिरिक्त सुविधा दिने गरिएको हो । बालबालिकामार्फत हाब्रे संरक्षणमा अभिभावकहरूलाई सचेत गराउन अन्तर्राष्ट्रिय हाब्रे संरक्षण दिवस मनाउने, हाब्रेसम्बन्धी भित्तेपत्रिका प्रकाशन गर्ने, सूचना तथा संरक्षण बोर्ड स्थापना गर्ने कार्य अघि बढाइएको छ ।
यसैगरी रूखबिरूवा रोप्ने कार्यक्रमअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–६ तालखर्कमा नर्सरी स्थापना गरी नर्सरी हेरचाहकर्ता नियुक्त गरिएको छ । इलाममा यसअघि नै स्थापित सातवटा नर्सरीहरूमा हेरचाहकर्तामार्फत बिरूवा हुर्काउने काम भइरहेको छ । नर्सरीहरूमा भालुचिन्डे, बान्टे, चाँप, टिमुर, खेतीकाठ, खानक्पा, गुराँस, गोब्रेसल्लालगायत बिरूवा हुर्काइँदै छ । जसमध्ये भालुचिन्डे हाब्रेको आहारा हो । इलामका जौबारी, तुम्लिङ, चित्रे, हिले, सिंहदेवीलगायत वनमा ७५ हजार पाँच सयभन्दा बढी बिरूवा रोपिएका बान्तवाले जानकारी दिनुभयो ।
यसैगरी, जीविकोपार्जनमा सहयोगअन्तर्गत याङवरक गाउँपालिकाका १५ जना चौँरी पालकहरूलाई सोलार सेट वितरण गरिएको छ । घुमन्ते चौँरीपालकहरू रेड पान्डाको बासस्थान आसपासमा बर्सेनि केही महिना रहने गर्दछन् । यस्तै, इलामका १० जना महिलालाई हाब्रेको लोगो अङ्कित गलैँचा बनाउने तालिम दिइएको छभने पाँचथरको फालेलुङका महिलाहरूलाई घरबास (होमस्टे) सञ्चालनका लागि खाना पकाउने तालिम दिइएको छ । सन् १९९६ देखि हाब्रे सङ्कटापन्न वन्यजन्तुमा सूचीकृत छ । आगलागी, चोरी–निकासी, बासस्थानको अभावलगायत कारण हाब्रे लोप हुँदै गएको छ । ००००००
प्रतिकृया दिनुहोस