तिन दिने डिजिटल रिपोर्टिङ तालिम सम्पन्न,पत्रकार महासंघ झापालाई सम्मान 

विर्तामोड, ४ माघ ।टेवा नामक संस्थाको सहयोगमा नारी सञ्चार गृह झापाद्वारा आयोजित डिजिटल रिपोर्टिङ तालिम सम्बन्धी तीन दिने तालिम आज समापन भएको छ । समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका नव निर्वाचित समितिलाई सम्मान पनि गरिएको छ ।
झापाको बिर्तामोडस्थित अर्किड होटलमा सञ्चालित तालिम समापन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाइले स्वदेशमै केही गरौं भनेर जागरुकता सञ्चार हुने प्रकृतिका समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो । कक्षा १२ पढिसक्दा युवा पलायन हुने क्रमले क्याम्पसहरु संकटमा पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशमा भएका संभावनालाई उजागर गर्दै युवा शक्तिलाई स्वदेश मै केही गर्न उत्प्रेरित गर्न सञ्चारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिसँग खेल्न नसके पत्रकारिता आफैंमा भुत्ते भएर जाने उल्लेख गर्दै डिजिटल प्रविधि आजको आवश्यकता भएको बताउनुभयो । प्रतिपष्र्धात्मक क्षमता विकास गर्न नसके परम्परागत सीपले मात्र पत्रकारितालाई भुत्ते बनाउने उहाँले धारणा राख्नुभयो ।
यस्तै बिर्तामोड नगरपालिकाकी नगरपरिषद् सदस्य निर्मला ल्वागुन, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगत उद्यमी महिला समूहकी अध्यक्ष राधिका चुँडाल हुमागाँई, महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष सर्मिला अधिकारी, उद्यमशिलताको सशक्तिकरण अभियान्ता निर्मला भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा प्रशिक्षार्थी कृष्णकुमारी बस्नेत र गणेश कोइरालाले तालिम उपलब्धीमुलक भएको प्रतिक्रिया दिंदै तालिमको समयावधी छोटो भएको बताउनुभयो । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, नेपाल पत्रकार महासंघका अध्यक्ष गिरी, उपाध्यक्ष सुब्रत न्यौपानेसहित अतिथिहरुले तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
खोज पत्रकारिता सम्बन्धी संस्था निमजेनका प्रमुख रजनीस भण्डारी, दिनेश रेग्मी, तारामणी सापकोटा र सावित्रा दाहालले तालिमको सहजीकरण गर्नुभएको थियो ।
महासंघको नवनिर्वाचित कार्यसमितिसहित पदाधिकारी, केन्द्रिय परिषद सदस्य तथा प्रदेश परिषद सदस्यको सम्मान कार्यक्रममा अध्यक्ष गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव प्रदिप परियार, सहसचिव रमेश तिवारी, तिलक योञ्जन, भूमिराज पराजुली, केन्द्रिय परिषद सदस्य विशाल नेम्वाङ, मनकुमार गदाल,  प्रदेश परिषद सदस्यहरु रश्मिशेखर सुवेदी र राम निरौला लगायतको उपस्थिति रहेको थियो ।
आयोजक संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा टेवाबारे जोस्ना श्रेष्ठले प्रकाश पार्नुभएको थियो भने स्वागत दिपा पोखरेलले गर्नुभएको थियो । तालिममा झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको थियो । माघ २ गतेदेखि सञ्चालन भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले गर्नुभएको थियो । ००००००००

प्रतिकृया दिनुहोस