हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रिँदा फेरि उत्पादन बन्द

काठमाडौँ, २७ वैशाख ।
चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रिँदा फेरि उत्पादन बन्द भएको छ ।
उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइला लगायत अन्य उपकरण खरिद गर्न नसकेपछि गएको ६ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन ।
चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरू गरेकामा अहिले आएर उद्योगको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक नविनकुमार कर्णले जानकारी दिनुभयो ।
अहिले उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताउनुभयो ।
तत्कालीन सरकारले यस उद्योग वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना गरेको थियो । उद्योगले वि.सं. २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन शुरू गरेको थियो । सरकारले उद्योग निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ लगानी गरेको थियो ।
उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण अहिले दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा अहिले करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । ००००००
प्रतिकृया दिनुहोस