भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी–सेभेन देशको आग्रह

काठमाडौँ, २७ वैशाख ।
जी–सेभेन देशहरूले भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । दुई देशबीच तनाव बढिरहेको बेला जी–सेभेन देशहरूले दुवैलाई संयम बन्न र कूटनीतिक समाधान खोज्न अपिल गरेका हुन् । शान्तिका लागि एकआपसमा वार्ता र समझदारी कायम गर्न जी–सेभेनको जोड छ ।
अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतले जम्मू–कश्मीरको पहलगाममा गएको अप्रिल २२ तारिखमा पर्यटकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले सैन्य तनाव क्षेत्रीय स्थायित्वका लागि गम्भीर खतरा रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।
भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले जवाफी कारबाही थालेको छ । पाकिस्तानी सेनाले भारतविरुद्ध बदला लिने उद्देश्यले प्रतिआक्रमण शुरू गरेको बताएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभागले यसलाई ‘बुनयान–उल–मरसूस’ को नाम दिएको छ ।
यसैबीच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक सरकारी अधिकारीको ज्यान गएको जानकारी दिनुभएको छ ।
राजौरी शहरमा पाकिस्तानको तर्फबाट गोलाबारी भएको र अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको निधन भएको उहाँले पुष्टि गर्नुभएको छ । ००००००
प्रतिकृया दिनुहोस