खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि सुरु 

खोटाङ, २७ वैशाख ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदैछ । 
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 
महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिला÷पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । 
खुला महिला÷पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमूनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला÷पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूको लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमूनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ । 
महोत्सवको चौथो र पाँचौँ दिन (वैशाख–३० र ३१ गते) खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस