सगरमाथासहित हिमालको आरोहण कार्य प्रभावित

विर्तामोड, २९ वैशाख ।
वसन्त ऋतुको सगरमाथा आरोहण याम जारी छ, तर पछिल्ला दिनहरूमा प्रतिकूल मौसमले सगरमाथासहित कञ्चनजङ्घा र अन्य हिमालको आरोहण कार्य प्रभावित भएको छ ।
पर्यटन विभागका अनुसार आज सगरमाथा क्षेत्रमा तीव्र गतिको हावाका कारण कुनै पनि आरोहण हुन सकेन। विभागका निर्देशक हिमाल गौतमका अनुसार मौसम प्रतिकूल भएका कारण धेरै आरोहीहरू सुरक्षित स्थानतर्फ फर्किएका छन् भने केही आरोहीहरू दोस्रो र तेस्रो शिविरमा मौसम अनुकूल हुने पर्खाइमा छन् ।
सगरमाथाको आधार शिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेले आज र भोलिका लागि तय गरिएको आरोहण स्थगित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीनदेखि चार दिनसम्म पनि मौसमले साथ नदिने सम्भावना रहेको छ । यदि मौसम अनुकूल भयो भने आगामी मे १८ देखि फेरि आरोहण सुरु हुने अपेक्षा गरिएको छ ।
एटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ सम्मको अवधिलाई ’समिट विन्डो’ का रूपमा लिइएको थियो, तर पाँच दिनअघि नै मौसम बिग्रँदा योजना अवरुद्ध भएको हो ।
हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने काम पूरा भइसकेको छ र चार समूहका आरोहीले मात्रै चुचुरोमा पाइला टेक्न सफल भएका छन् । मे १० मा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले, तथा मे ११ मा बेलायतका मिचेल लियोनार्ड डाक्रे, नेपालका ग्याल्जे शेर्पा, फुरी शेर्पा, आङ पेम्बा शेर्पा र इक्वेडरका पेट्रिसियो एरेभालोले सफल आरोहण गरेका छन् । सोही दिन दावा फुञ्जो शेर्पाले लोहोत्से हिमाल पनि आरोहण गर्नुभएको थियो ।
यस याममा मकालु हिमालको समेत आरोहण भइरहेको छ । विभागका अनुसार पाँच नेपाली, तीन चिनियाँ र एक किर्गिस्तानी आरोहीले मकालुको सफल आरोहण गरेका छन् ।
वसन्त यामको यो सगरमाथा आरोहण वैशाख २६ गतेदेखि सुरु भएको हो । एटके एक्सपिडिसनका सात जना शेर्पा टोलीले सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहणको ढोका खोलेका थिए ।
यो याममा सगरमाथासहित २६ वटा हिमालको आरोहणका लागि ११९ आरोहण समूहबाट एक हजार १२७ जना—जसमध्ये २४० महिला र ८८७ पुरुष—ले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ४५ समूहका ४५६ जना आरोहीले अनुमति लिएका छन् । ००००००
 

प्रतिकृया दिनुहोस