हुलाक सेवा प्रणालीलाई समयसापेक्ष बनाउन नयाँ हुलाक सेवा ऐन ल्याइने 

सुर्खेत, २९ वैशाख ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको हुलाक सेवा प्रणालीलाई समयसापेक्ष बनाउँदै आधुनिक रूप दिनका लागि नयाँ हुलाक सेवा ऐन ल्याइने प्रतिबद्धता जनाउनुभएको छ ।
आज सुर्खेतस्थित हुलाक निर्देशनालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रविधिको तीव्र विकास भइरहेको वर्तमान सन्दर्भमा पुराना कानुनले सेवा प्रवाह गर्न नसक्ने बताउनुभयो ।
“हुलाक सेवा अझै पुरानै ढर्रामा चलिरहेको छ । अब यसको सेवालाई प्रभावकारी बनाउँदै आधुनिक बनाउने गरी नीति र ऐन परिवर्तन गरिँदैछ,” उहाँले भन्नुभयो ।
संघीय गणतन्त्रको संरचनामा पुरानो कानुन प्रयोग गरेर परिणामको अपेक्षा गर्नु गलत भएको स्पष्ट पार्दै मन्त्री गुरुङले ऐन मस्यौदा भइसकेको र चाँडै संघीय संरचना अनुकूल कार्यान्वयन हुने जानकारी दिनुभयो ।
त्यस्तै, हाल समाजमा फैलिरहेका भ्रामक सूचना नियन्त्रणका लागि सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयक छिट्टै कानुनका रूपमा कार्यान्वयनमा ल्याइने बताउँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले प्रभावकारी नियमनको आवश्यकता औँल्याउनुभयो ।
विकास निर्माणमा अध्ययनको अभाव रहेको उल्लेख गर्दै उहाँले सनकका भरमा गरिएका योजनाका कारण राज्यको खर्बौं रुपैयाँ नोक्सानमा गएको भन्दै अब आवश्यकता र औचित्यमाथि आधारित योजना निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवा सुधारका लागि उठाइएका मागहरूमाथि सम्बोधन गरिने आश्वासन दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव वीरेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी जगतिश्वर उपाध्याय लगायतले सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन सुझाव दिएका थिए ।
यस्तै, हुलाक सेवा प्रभावकारी बनाउन योगदान पु¥याउने विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस