कङ्गोमा इबोला प्रकोप तीव्र, विश्व स्वास्थ्य क्षेत्रमा बढ्यो चिन्ता

कङ्गो, ८ साउन । 
कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएपछि विश्व स्वास्थ्य क्षेत्रमा चिन्ता बढेको छ । हालको प्रकोप सन् २०१४–२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र गतिमा फैलिएको तथ्याङ्कले देखाएको छ ।
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई हजार ५३६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ । गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको प्रकोप मुख्यतः युगान्डा सीमावर्ती पूर्वी कङ्गोका पाँच प्रान्तमा केन्द्रित रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस वर्षको प्रकोप दुर्लभ मानिने बुन्डिबुग्यो भाइरस का कारण फैलिएको हो । यो भाइरसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन, जसले नियन्त्रण प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हालको प्रकोपमा मृत्युदर करिब ४० प्रतिशत रहेको छ । अधिकांश बिरामी लक्षण देखिएपछि ढिलो स्वास्थ्य संस्थामा पुग्ने गरेका कारण मृत्यु सङ्ख्या बढेको जनाइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले इबोला भाइरस समूहका भाइरसमध्ये इबोला भाइरस सबैभन्दा घातक मानिने र उपचार नपाएमा सङ्क्रमितमध्ये ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जनाएको छ ।
अधिकारीहरूले प्रकोप अझै चरम अवस्थामा नपुगेको चेतावनी दिएका छन् । पहिलो सङ्क्रमितको स्रोत अझै पत्ता लाग्न नसक्नु, निगरानी सूचीभन्दा बाहिरबाट नयाँ सङ्क्रमित भेटिनु तथा भाइरसको प्रकार पहिचानमा भएको ढिलाइले प्रकोप नियन्त्रणलाई थप जटिल बनाएको उनीहरूको भनाइ छ । ०००००
 

प्रतिकृया दिनुहोस