रुसले उत्तर कोरियाबाट थप ३० हजार सैनिक मागेको जेलेन्स्कीको दाबी

किभ, १० साउन । 
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धका लागि उत्तर कोरियाबाट थप ३० हजार सैनिक तथा क्षेप्यास्त्र प्रहारक (मिसाइल लन्चर) मागेको दाबी गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँग सीमा जोडिएको रुसको भोरोनेज क्षेत्रमा थप उत्तर कोरियाली सैनिक परिचालनको तयारी भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ । उहाँले यो घटनाले युद्ध अझ जटिल बन्ने संकेत गरेको बताउनुभएको छ । 
समाचार संस्था एएफपीका अनुसार सन् २०२४ मा युक्रेनले कुस्र्क क्षेत्रमा गरेको प्रत्याक्रमणपछि रुसलाई सहयोग गर्न उत्तर कोरियाले हजारौं सैनिक पठाएको थियो । साथै सन् २०२२ देखि नै उत्तर कोरियाले रुसलाई विभिन्न प्रकारका हतियारसमेत उपलब्ध गराउँदै आएको बताइएको छ ।
दक्षिण कोरियाको अनुमानअनुसार रुस–युक्रेन युद्धमा हालसम्म झण्डै दुई हजार उत्तर कोरियाली सैनिक मारिएका छन् । 
राष्ट्रपति जेलेन्स्कीले रुस–उत्तर कोरियाबीचको सैन्य सहकार्य युक्रेनका लागि मात्र नभई सम्पूर्ण एसियाको सुरक्षाका लागि पनि गम्भीर चुनौती बनेको बताउनुभएको छ। उहाँका अनुसार रुसले उत्तर कोरियालाई आधुनिक युद्धको अनुभव, हतियारको प्रयोग तथा सैन्य प्रविधि सुधार गर्ने अवसर उपलब्ध गराइरहेको छ, जसको प्रभाव उत्तर कोरियाली क्षेप्यास्त्रको पहुँचभित्र रहेका अन्य एसियाली मुलुकहरूले पनि भोग्नुपर्ने अवस्था आउन सक्छ । 
सन् २०२४ मा रुस र उत्तर कोरियाबीच सैन्य सहयोगसम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो । यसै साता मस्को भ्रमणका क्रममा उत्तर कोरियाकी विदेशमन्त्री चो सोन हुईले पनि युक्रेनविरुद्धको युद्धमा रुसलाई आफ्नो पूर्ण समर्थन रहेको पुनः पुष्टि गर्नुभएको थियो ।
विश्लेषकहरूका अनुसार सैन्य सहयोगको बदलामा उत्तर कोरियाले रुसबाट नगद, सैन्य प्रविधि, खाद्यान्न तथा ऊर्जाजन्य सामग्री प्राप्त गरिरहेको छ । यसले अन्तर्राष्ट्रिय प्रतिबन्धको दबाब खेपिरहेको उत्तर कोरियालाई आफ्नो आणविक तथा सैन्य कार्यक्रम अघि बढाउन थप सहयोग पुग्ने आकलन गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस