प्रश्नपत्र बाहिरिएपछि चौतर्फी दबाबमा परेका भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा 

तस्बिर– गोरखापत्र

बिर्तामोड, ९ साउन ।

परीक्षाको प्रश्नपत्र बाहिरिएको (लीक) विषयलाई लिएर भारतभर विद्यार्थीहरूको विरोध प्रदर्शन चर्किएपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । युवा तथा विद्यार्थीहरूको नेतृत्वमा रहेको कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी सङ्गठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शनपछि उहाँ पद छोड्न बाध्य हुनुभएको हो । आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई तत्काल केन्द्रीय मन्त्रिपरिषद्बाट हटाउनुपर्ने मुख्य माग राख्दै आएका थिए ।
टाइम्स अफ इन्डियाका अनुसार मन्त्री प्रधानले देशका युवा तथा विद्यार्थीहरूको भावना र न्यायोचित अपेक्षाको सम्मान गर्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ । साथै, वर्तमान संवेदनशील परिस्थितिको फाइदा कुनै पनि अवाञ्छित तत्त्वले नउठाऊन् भन्ने उद्देश्यले आफूले यो कदम चालेको उहाँको भनाइ छ ।
नयाँ दिल्लीको जन्तर मन्तरलगायत देशका विभिन्न भागमा भइरहेको विद्यार्थी आन्दोलनका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै उहाँले यो निर्णय लिनुभएको हो । विद्यार्थीहरूको भविष्य कानुनी उल्झनमा नफसोस् र उनीहरूले आफ्नो अध्ययनमा ध्यान केन्द्रित गर्न सकून् भन्ने हेतुले आफूले पद त्याग गरेको उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।  ००००००००
 

प्रतिकृया दिनुहोस