न्यायालयप्रति पूर्ण विश्वास छ : पूर्वसभापति देउवा
काठमाडौं, ३१ साउन ।
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयले विगतदेखि नै आफू र आफ्नो पार्टीलाई न्याय दिँदै आएको भन्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ ।
कांग्रेसको संस्थापन पक्षइतरको तीनदिने राष्ट्रिय भेला समापन कार्यक्रममा बोल्दै देउवाले पञ्चायतकालदेखि नै न्यायालयले आफूहरूलाई न्याय दिएको उल्लेख गर्नुभयो । आफूलाई राजाले थुन्दा पनि न्यायालयले शाही आयोग खारेज गरेको स्मरण गर्दै उहाँले अहिले कांग्रेसको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा रहेकाले न्याय पाउने अपेक्षा व्यक्त गर्नुभयो ।
विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो कदम नचाल्न आग्रह गरेको पनि देउवाले बताउनुभयो ।
फरक प्रसङ्गमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको उल्लेख गर्दै सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता हुनुपर्ने बताउनुभयो । बौद्ध धर्मप्रति पनि आफ्नो उत्तिकै श्रद्धा रहेको भन्दै उहाँले सबै धर्म र धर्मावलम्बीप्रति सम्मान रहेको स्पष्ट पार्नुभयो ।
कांग्रेसलाई एकताबद्ध बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको पूर्वमहामन्त्री एवं भेला संयोजक डा. शशाङ्क कोइरालाले बताउनुभयो ।
भेलाले पार्टीको १५औँ महाधिवेशनको तयारी, सनातन धर्म मान्न पाउने स्वतन्त्रता र संविधान संशोधनलगायत पाँचवटा प्रतिवेदन तथा विभिन्न प्रस्ताव पारित गरेको छ ।
कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछि त्यसको वैधानिकतामाथि असन्तुष्ट पक्षले निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतमा चुनौती दिएको थियो । सर्वोच्चले आयोगको निर्णयलाई मान्यता दिए पनि पुनरावलोकनका लागि परेको निवेदनमा यही साउन २१ गते पूर्ण इजलासले निस्सा दिएको छ । ०००००












प्रतिकृया दिनुहोस