३० वटा अमेरिकी राज्यले हालेको मुद्दा हारे मेटाले फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन गर्नुपर्ने 

अमेरिका, १ भदौ ।
अमेरिकाका ३० वटा राज्यले दायर गरेको मुद्दामा मेटा पराजित भए फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुन सक्ने देखिएको छ । मुद्दाको सुनुवाइ भोलिदेखि सुरु हुँदैछ ।
ती राज्यहरुले मेटामाथि बालबालिका तथा किशोरकिशोरीको गोपनीयता कानुन उल्लंघन गरेको र उनीहरुलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी फेसबुक तथा इन्स्टाग्राम डिजाइन गरेको आरोप लगाएका छन् ।
राज्यहरुले फेसबुक र इन्स्टाग्राममा रहेको ‘लाइक’ प्रणाली, सामग्री सिफारिस गर्ने प्रणाली, अटो–प्ले भिडियो, बारम्बार आउने नोटिफिकेसन र फोटो फिल्टरजस्ता सुविधामाथि मुख्य आपत्ति जनाएका छन् ।
यी सुविधाका कारण किशोरकिशोरीले सामाजिक सञ्जालमा बढी समय बिताउने तथा सामाजिक तुलना, अस्वीकृतिको भावना र आत्मसम्मानमा नकारात्मक असर पर्न सक्ने राज्यहरुको दाबी छ ।
मुद्दामा ‘लाइक’ संख्या लुकाउने, नोटिफिकेसन सीमित गर्ने, सामग्री सिफारिस प्रणाली परिवर्तन गर्ने र केही फोटो फिल्टर हटाउनेसम्मका माग गरिएको बीबीसीले जनाएको छ ।
मेटाले भने आरोप अस्वीकार गर्दै युवाको सुरक्षा र कल्याणका लागि आफूले काम गरिरहेको दाबी गरेको छ ।
यदि अदालतको फैसला मेटाविरुद्ध आए फेसबुक र इन्स्टाग्राममा किशोरकिशोरीले प्रयोग गर्ने धेरै सुविधामा परिवर्तन गर्नुपर्ने हुन सक्छ । विशेषगरी ‘लाइक’ देखाउने व्यवस्था, नोटिफिकेसन र प्रयोगकर्तालाई लामो समय एपमा राख्ने सिफारिस प्रणालीमा कडाइ हुन सक्ने देखिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस