सन् २०२५ मा विश्वभर ३५० सहायताकर्मी मारिए
गाजा र सुडान सहायताकर्मीका लागि सबैभन्दा घातक क्षेत्र भएको ठहर
सुडान, २ भदौ ।
सन् २०२५ मा विश्वभर ३५० जना सहायताकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै गाजा र सुडानमा मारिएका छन् ।
विश्व मानवतावादी दिवसको अवसरमा ओसीएचएले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा गाजामा मात्रै १८६ जना सहायताकर्मी मारिएका छन् । गाजा लगातार तेस्रो वर्ष सहायताकर्मीका लागि सबैभन्दा घातक क्षेत्र बनेको छ । यस्तै, सुडानमा ७१ जना सहायताकर्मी मारिएका छन् ।
सन् २०२४ मा विश्वभर ३७७ सहायताकर्मी मारिएकोमा गत वर्षको सङ्ख्या केही कम भए पनि पछिल्लो तीन वर्षमा एक हजारभन्दा बढी सहायताकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले सहायताकर्मीमाथिका आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न सम्बन्धित देशलाई आग्रह गर्नुभएको छ । उहाँले नियम उल्लङ्घन गर्नेलाई कानुनी रूपमा जवाफदेही बनाउनुपर्ने बताउनुभएको छ ।
ओसीएचएका अनुसार सन् २०२६ सुरु भएयता पनि विश्वभर थप ८२ सहायताकर्मी मारिएका, ९७ जना घाइते भएका र ३९ जना अपहरणमा परेका छन् ।
यसैबीच, ओसीएचएले सशस्त्र ड्रोनको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ । सुडानमा सन् २०२६ का सुरुका चार महिनामा ड्रोन आक्रमणबाट भएको नागरिक मृत्युको हिस्सा ८० प्रतिशत रहेको र बजार तथा स्वास्थ्य संस्थासमेत निशानामा परेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ०००००












प्रतिकृया दिनुहोस