बेल्जियममा घर मर्मत गर्दा भेटियो झन्डै ९० लाख युरोको सुन
काठमाडौं, ३१ साउन ।
बेल्जियमको पूर्वी फ्ल्यान्डर्समा घर मर्मतका क्रममा कामदारहरूले झन्डै ९० लाख युरो, अर्थात् एक अर्ब ५८ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनका इँटा र सिक्का फेला पारेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ढलको पाइप बिछ्याउन जमिन खन्ने क्रममा कामदारहरूले ठूलो परिमाणमा सुन फेला पारेका हुन् ।
अचानक यति ठूलो खजाना भेटिएपछि यसको वास्तविक मालिक को हो र सुनमा कसको अधिकार रहने भन्ने प्रश्न उठेको छ । कामदारसँगै उक्त स्थानको स्वामित्व रहेको स्थानीय निकायले पनि सुनमा दाबी गर्न सक्ने सम्भावना छ ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै उक्त स्थानमा थप खजाना खोज्न मानिसहरूलाई रोक लगाएको छ । घरको पूर्ण तलासी गरिसकिएको र भेटिएको सबै सुन सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।
सुन भेटिएको ठाउँ हाल सीएडब्ल्यू ओस्ट–भ्लान्डेरेन नामक सामाजिक तथा कल्याणकारी संस्थाको स्वामित्वमा छ । संस्थाका निर्देशक गीर्ट हिलर्टले खजाना संस्थाकै स्वामित्वमा आएमा त्यसलाई सामाजिक सेवामा प्रयोग गर्न सकिने आशा व्यक्त गर्नुभएको छ ।
बेल्जियमको कानुनअनुसार वास्तविक मालिकले खजाना आफ्नो भएको दाबी गर्न पाँच वर्षसम्मको समय पाउँछन् । पाँच वर्षभित्र कसैले दाबी नगरेमा, अपराधसँग सम्बन्धित नभएको प्रमाणित भएमा, अरूको जमिनमा भेटिएको खजाना फेला पार्ने व्यक्ति र जमिनको मालिकबीच बाँड्ने कानुनी व्यवस्था छ । ०००००












प्रतिकृया दिनुहोस