विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्यो, ५ अर्ब ४ करोडमा सीमित

काठमाडौं, १ भदौ ।
नेपाल विद्युत् प्राधिकरणको नाफा आर्थिक वर्ष २०८२/८३ मा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिनुभएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ दशमलव ६० प्रतिशतले कम हो ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो । 
प्राधिकरणका अनुसार अतिरिक्त दायित्व बढ्नु, विदेशी विनिमयदरमा आएको उतारचढाव र घरायसी उपभोक्तालाई २० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउनुलगायत कारण नाफा घटेको हो ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले घरायसी उपभोक्तालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतमा ५ र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको अवस्थामा पनि मन्त्री श्रेष्ठले उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने बताउनुभएको हो ।
उहाँले उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने स्पष्ट कार्ययोजनासमेत अघि बढाइएको जानकारी दिनुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस