भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
विर्तामोड, २ भदौ ।
नेपालकै ठूलो खुद्रा व्यापार चेन भाटभटेनी सुपरस्टोरले चौबिसै घण्टा सेवा सञ्चालन सुरु गरेको छ । भक्तपुरको राधेराधेस्थित सुपरस्टोरबाट गएरातिदेखि चौबिसै घण्टा सेवा सुरु गरिएको हो ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आम उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले चौबिसै घण्टा स्टोर सञ्चालनमा ल्याइएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक–एक वटा स्टोर चौबिसै घण्टा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभएको छ ।
भक्तपुरपछि ललितपुरको पाटनस्थित कृष्णगल्ली र काठमाडौंको टंगालस्थित स्टोर पनि चौबिसै घण्टा सञ्चालनमा ल्याइनेछ । टंगाल स्टोर भदौ २४ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको भाटभटेनीले जनाएको छ ।
चौबिसै घण्टा सञ्चालन हुने स्टोरको पहिलो तला मात्र खुला रहनेछ भने त्यहाँ मुख्य रूपमा ग्रोसरी सामान उपलब्ध हुनेछन् । आगामी दिनमा पोखराको एउटा स्टोरलाई पनि चौबिसै घण्टा सञ्चालन गर्ने योजना रहेको भाटभटेनीले जनाएको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले चौबिसै घण्टा सेवा सञ्चालन गर्ने भाटभटेनीको निर्णयको प्रशंसा गर्नुभएको छ । उहाँले यसबाट काठमाडौं उपत्यकाको रात्रिकालीन गतिविधि र आर्थिक गतिविधिलाई समेत सहयोग पुग्ने बताउनुभएको छ ।
चौबिसै घण्टा सेवा सुरु भएपछि उपभोक्ताले पनि खुसी व्यक्त गरेका छन् । दिनभर काममा व्यस्त हुनेहरूलाई रातिको समयमा आवश्यक सामान खरिद गर्न सहज हुने उनीहरूको भनाइ छ ।
भाटभटेनीका देशभर २७ वटा स्टोर सञ्चालनमा छन् । कम्पनीमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने वार्षिक कारोबार करिब ३२ अर्ब रुपैयाँ रहेको बताइएको छ । ०००००











प्रतिकृया दिनुहोस