कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदानसम्बन्धी नयाँ कार्यविधि लागू
काठमाडौं, १ भदौ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषि, पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने नयाँ कार्यविधि लागू गरेको छ ।
मन्त्री गिता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि, २०८३’ आजदेखि कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ कार्यविधिले अघिल्लो कार्यविधिको तुलनामा बीमा अनुदानको प्रक्रिया सरल बनाउनुका साथै सरोकारवाला व्यक्ति तथा निकायलाई थप जिम्मेवार बनाएको छ । कार्यान्वयनका लागि कार्यविधि सबै प्रदेशका कृषि सम्बन्धी मन्त्रालयमा पठाइसकिएको छ ।
कार्यविधिअनुसार कार्यक्रमको समन्वय गर्न मन्त्रालयका सचिवको अध्यक्षतामा नौ सदस्यीय निर्देशक समिति गठन गरिनेछ । त्यस्तै, प्रदेश तहमा कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा समन्वय समिति गठन गर्ने व्यवस्था गरिएको छ ।
कृषि बीमाअन्तर्गत अदुवा, अलैँची, आलु, उखु, कफी, कागती, किवी, केरा, चिया, च्याउ, धान, तरकारी, फलफूल, बेसार, मौरी, सुन्तला, स्याउ लगायत विभिन्न बाली समेटिएका छन् ।
जडिबुटीतर्फ टिमुर र मेन्था तथा पशुपन्छीतर्फ पन्छी, पशुधन, बंगुर, बाख्रा, माछा र घाँसे बालीको बीमा समेटिएको छ ।
कार्यविधिअनुसार प्रति बीमालेख एक करोड रुपैयाँसम्मको बीमांक रकममा ८० प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको अतिरिक्त बीमांक रकममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । ०००००











प्रतिकृया दिनुहोस