जन्तेढुङ्गाको पुमा सामुदायिक होमस्टे छोटो समयमै पाहुनाको रोजाइमा, किरात संस्कारको स्वागत
खोटाङ, ४ भदौ ।
किरात पहिरनमा सजिएकी कन्याले हातमा फूलका गुच्छा र थाली लिएर पाहुनालाई स्वागत गर्ने दृश्य जन्तेढुङ्गाको पुमा सामुदायिक होमस्टेको विशेष आकर्षण बनेको छ । पुमा राई समुदायको संस्कार, संस्कृति र स्थानीय परिकारसहितको आतिथ्यले छोटो समयमै होमस्टे पाहुनाको रोजाइमा पर्न थालेको हो ।
जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङको निगालावासका ११ घर पुमा राई मिलेर २०८१ माघ १५ गतेदेखि होमस्टे सञ्चालन गरेका हुन् । गाउँपालिकामा आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गरिएको होमस्टेमा स्थानीय खानाका परिकारसँगै पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकका मुख्य आकर्षण बनेका छन् ।
पाहुनालाई खाजामा कोदो र फापरको रोटी, उसिनेको तथा भुटेको मकै–भटमास दिइन्छ । खानामा कोदोको ढिँडो, मकै तथा जौको भात, सिस्नो, स्थानीय कुखुरा, बङ्गुर र राँगाको मासु उपलब्ध गराइन्छ ।
होमस्टेमा पाहुनाको बसाइ सहज बनाउन गाउँपालिकाको सहयोगमा शौचालय र बाथरुम निर्माण गरिएको छ । पाहुना सत्कारका लागि भवन निर्माण गर्न गाउँपालिकाले आठ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको छ । पहिलो तलामा सङ्ग्रहालयसहितको सत्कार कक्ष र माथिल्लो तलामा बास बस्ने व्यवस्था गर्ने योजना छ ।
स्थानीयलाई पर्यटनसँग जोडेर आयआर्जन बढाउने उद्देश्यले होमस्टे सञ्चालनमा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । सञ्चालकलाई होमस्टे सञ्चालन, सरसफाइ, सुरक्षा र पाहुना सत्कारसम्बन्धी तालिम तथा अन्य होमस्टेको अवलोकन भ्रमणसमेत गराइएको छ ।
जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्कलगायत पर्यटकीयस्थल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा बस्न आउने गरेका छन् । सडक सुविधा सहज भएकाले आफ्नै गाडी तथा मोटरसाइकलमा आउने पाहुनाको सङ्ख्यासमेत बढिरहेको सञ्चालकको भनाइ छ ।
पर्यटनको राम्रो सम्भावना बोकेको जन्तेढुङ्गा गाउँपालिकामा जन्तेढुङ्गा, भञ्ज्याङखर्क, चण्डीथान र भानुमतीलगायत रमणीय क्षेत्र छन् । स्थानीय संस्कृति, प्राकृतिक सुन्दरता र सामुदायिक होमस्टेलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने प्रयास भइरहेको छ । ०००००











प्रतिकृया दिनुहोस