बढ्दो सहरीकरणका बीच विराट पोखरी पर्यटकको रोजाइमा 

विर्तामोड, ५ भदौ ।
बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको पोखरी क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको चहलपहल बढेको हो ।
स्थानीयका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन पोखरी परिसरमा उल्लेख्य भीड लाग्ने गरेको छ । परिवारसहित घुम्न, प्राकृतिक वातावरणको आनन्द लिन तथा सहरको कोलाहलबाट केही समय टाढा रहन आगन्तुक यहाँ पुग्ने गरेका छन् ।
भारतको सिक्किम, आसामलगायत क्षेत्रबाट बिर्तामोडस्थित मेची आँखा अस्पतालमा उपचारका लागि आउने बिरामी र आफन्तसमेत फुर्सदको समयमा विराट पोखरी घुम्न जाने गरेका छन् । यसले विराट पोखरीलाई धार्मिक तथा प्राकृतिक पर्यटनसँगै स्वास्थ्य पर्यटनसँग जोड्ने सम्भावना देखाएको छ । विराट सरोवर विकास समितिका अध्यक्ष इन्द्र प्रसाईँका अनुसार पोखरी परिसरमा बालबालिकाका लागि खेल संरचना, विद्यालयका शैक्षिक भ्रमण, विभिन्न सङ्घसंस्थाका अवलोकन कार्यक्रम तथा बोटिङ सञ्चालन भइरहेका छन् ।
पौराणिक मान्यताअनुसार महाभारतकालमा राजा विराटले गाईवस्तुलाई पानी खुवाउन पोखरी खन्न लगाएको विश्वास गरिन्छ । यही क्षेत्रमा पाण्डवले अज्ञातबास बिताएको जनविश्वास पनि छ । पोखरी परिसरमा रहेको प्राचीन ग्रामकाली थान र शिवालय मन्दिरले यसको धार्मिक महत्वसमेत बढाएको छ ।
विसं २०५१ देखि संरक्षणको काम हुँदै आए पनि पर्याप्त बजेट र दीर्घकालीन गुरुयोजनाको अभावमा अपेक्षित विकास हुन नसकेको समितिले जनाएको छ । ऐतिहासिक, पुरातात्विक र जैविक महत्व बोकेको विराट पोखरीको संरक्षण, भौतिक विकास र प्रवद्र्धनका लागि गुरुयोजना बनाएर काम अघि बढाइएको समितिको भनाइ छ । ००००००
 

प्रतिकृया दिनुहोस