सात हजार कुखुराको पोष्टमार्टम, १० रोग पहिचान

चितवन, ४ भदौ । 
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको पोष्टमार्टम गरी विभिन्न रोग पहिचान गरेको छ । चितवनसहित १६ जिल्लाका किसानले ल्याएका कुखुराको पोष्टमार्टम तथा नमुना परीक्षणबाट १० प्रकारका रोग देखिएको हो ।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार एक हजार पाँच सय कुखुराको नमुना परीक्षण गर्दा २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यार हुने सीआरडी रोग देखिएको छ । यस्तै, नौ प्रतिशतमा ढुसीजन्य रोग, चार प्रतिशतमा सीसीआरडी र तीन दशमलव पाँच प्रतिशतमा साल्मोनेलोसिस भेटिएको छ ।
परीक्षणका क्रममा एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु, कुखुराको हैजा, आईबी र रानीखेत रोगको सङ्क्रमणसमेत देखिएको प्रयोगशालाले जनाएको छ । द्रुत परीक्षण गरिएका २७८ नमुनामध्ये ४७ वटामा एभियन इन्फ्लुएन्जा, १७६ नमुनामध्ये १०९ वटामा गम्बारो र ९९ नमुनामध्ये सात वटामा रानीखेत रोग देखिएको छ ।
यस्तै, ४६ वटा आईबी नमुना परीक्षण गर्दा दुई वटामा सङ्क्रमण भेटिएको छ । पीएटी, एलिजा र अन्य विधिबाट गरिएको परीक्षणमा साल्मोनेला, माइकोप्लाज्मा र चिकेन इन्फेक्सस एनेमिया भाइरसको सङ्क्रमणसमेत पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
नौ सय वटा कुखुराको नमुना कल्चर गर्दा ७८९ वटामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित कुखुरामा कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्नेबारे सेवाग्राहीलाई आवश्यक जानकारीसमेत दिइएको छ ।
प्रयोगशाला प्रमुख डा. श्रेष्ठले कुखुरामा रोगको सङ्क्रमण रोक्न जैविक सुरक्षा अर्थात् बायोसेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार जैविक सुरक्षा अपनाउन नसक्दा कुखुराजन्य रोग फैलिने जोखिम अझ बढ्छ । ०००००
 

प्रतिकृया दिनुहोस