भोजपुरका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुँदै
भोजपुर, ४ भदौ ।
अनुदान, प्राविधिक सहयोग र सिँचाइ पूर्वाधार विस्तारसँगै भोजपुरका किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् ।
कृषि उत्पादनका लागि उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग पाएपछि सुन्तला, अलैँची, तरकारी र खुर्सानीजस्ता नगदेबालीको खेती विस्तार हुँदै गएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भोजपुरमा अलैँची सुपर जोन र सुन्तला जोन सञ्चालनमा छन् । अलैँची सुपर जोनमा जिल्लाका सात स्थानीय तहका ३५ वडा तथा सुन्तला जोनमा पाँच स्थानीय तहका २६ वडा समेटिएका छन् ।
गत आर्थिक वर्षमा मात्रै विभिन्न शीर्षकमा १०९ जना किसानले अनुदान पाएका छन् । अनुदानसँगै खेती प्रविधि, रोग तथा कीरा नियन्त्रण, बगैँचा व्यवस्थापन, सिँचाइ, कृषि यान्त्रीकरण र बजारीकरणसम्बन्धी प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको छ ।
भोजपुर नगरपालिका–५ की सङ्गीता श्रेष्ठले १०० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी तथा खुर्सानी खेती गरिरहनुभएको छ । उहाँको कृषि उद्यमका लागि चार लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । यस्तै, भोजपुर नगरपालिका–३ का किसान हरिप्रसाद प्रधानले अनुदानबाट सिँचाइ पोखरी निर्माण गरी करिब २० रोपनीमा पाँच सय सुन्तलाका बिरुवा लगाउनुभएको छ ।
सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत कार्यक्रमबाट गत आर्थिक वर्षमा ५४ जना किसानले सहयोग पाएका छन् । सिँचाइ सुविधा विस्तार भएपछि वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्था घट्दै गएको छ भने किसानले एउटै बालीमा निर्भर नभई तरकारी, सुन्तला, खुर्सानीलगायत बाली लगाउन थालेका छन् ।
अलैँचीको गुणस्तर सुधारका लागि गत वर्ष ३० वटा आधुनिक अलैँची भट्टी वितरण गरिएको छ । सुन्तला क्षेत्र विस्तारअन्तर्गत ११ वटा कृषि फर्मले पनि अनुदान पाएका छन् ।
यस्तै, चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत १०२ रोपनीमा अलैँची खेती विस्तार गरी ५५ हजार बिरुवा रोपिएको छ । छरिएको जमिनलाई एकीकृत गर्दा उत्पादन लागत घटाउन र कृषि यान्त्रीकरण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीय रैथाने बालीको प्रशोधन तथा बजारीकरणमा पनि जोड दिइएको छ । रामप्रसादराई गाउँपालिका–६ मा कोदोको बिस्कुट उत्पादन सुरु भएको छ । कोदो, फापर, मकै र कागुनोलगायत बालीलाई प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गर्न सके जिल्लाबाहिर समेत बजार विस्तार गर्न सकिने सम्भावना रहेको छ ।
कृषि क्षेत्रमा अनुदान र प्रविधिको सहयोगले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गरे पनि दीर्घकालीन लाभका लागि बजार, उचित मूल्य, भण्डारण, प्रशोधन र बजारीकरणमा थप ध्यान दिनुपर्ने देखिएको छ । कृषि प्राविधिकहरूले गुणस्तरीय बिरुवा, रोग तथा कीरा नियन्त्रण, आधुनिक सिँचाइ र यान्त्रीकरणलाई थप विस्तार गर्न सके भोजपुरको कृषि उत्पादन र उत्पादकत्व बढाउन सकिने बताएका छन् । ०००००










प्रतिकृया दिनुहोस