राप्रपाका बागमती संसदीय दलका नेता उद्धव थापा निष्कासित 

काठमाडौँ, ४ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको निर्देशनविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै थापालाई पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्यबाट समेत कारबाही गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभएको छ ।
उद्धव थापाले एमाले र नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेपछि राप्रपाले उक्त समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर, निर्देशन नमानेपछि कारबाही गरिएको अध्यक्ष लिङदेनले बताउनुभयो ।
उहाँले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य नेता तथा सांसदलाई पनि कारबाही गरिने चेतावनी दिनुभएको छ ।
यसैबीच, उद्धव थापामाथि गरिएको कारबाहीको निर्णयप्रति राप्रपाका नेता कमल थापाले असहमति जनाउनुभएको छ । पार्टीभित्र पर्याप्त छलफल नगरी कारबाहीको निर्णय गरिएको भन्दै कमल थापाले नोट अफ डिसेन्ट लेख्नुभएको हो ।
उहाँले पार्टी विधान र प्रक्रियालाई बेवास्ता गर्दै संसदीय दलका नेतालाई कारबाही गरिएको भन्दै निर्णयप्रति असहमति जनाउनुभएको बताइएको छ । कमल थापासहित केही नेताले कारबाहीको निर्णयमा असहमति जनाएको जनाइएको छ । ०००००
 

प्रतिकृया दिनुहोस