म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी, ५ भदौ ।
म्याग्दीबाट एक वर्षको अवधिमा ७३ करोड रुपैयाँभन्दा बढीको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो ।
कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाका अनुसार जिल्लामा चार हजार पाँच सय १५ मेट्रिक टन सुन्तला र ३३ हजार एक सय २० मेट्रिक टन आलु उत्पादन तथा व्यापार भएको छ । चार सय ३० हेक्टरमा सुन्तला र एक हजार आठ सय ४० हेक्टरमा आलुखेती गरिएको थियो ।
सुन्तला प्रतिकिलोग्राम औसत ७५ रुपैयाँ र आलु ३० रुपैयाँका दरले बिक्री भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान रहे पनि वैशाख र जेठमा परेको असिनाका कारण आलुको उत्पादन घट्दा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । म्याग्दीमा उत्पादित आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुने गरेका छन् । सडक पहुँच विस्तार भएपछि गाउँमा उत्पादित कृषि उपजले सहज रूपमा बजार पाउन थालेको कार्यालयको भनाइ छ ।
आलु र सुन्तलाखेती विस्तार तथा प्रवद्र्धनका लागि कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । गत आर्थिक वर्षमा कृषि क्षेत्रमा तीनै तहका सरकारले नौ करोड ३९ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेकामा करिब ७२ दशमलव ८३ प्रतिशत खर्च भएको छ ।
किसानहरूले भने कृषि उपजको बजार व्यवस्थापन, बाँदरको समस्या, सिँचाइको अभाव, गुणस्तरीय बीउबिजनको कमी र जनशक्ति अभाव मुख्य चुनौती रहेको बताएका छन् । किसानले उत्पादनको बजार सुनिश्चितता, सिँचाइ तथा बीउबिजनमा पर्याप्त बजेट र युवालक्षित कृषि कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।
यसैबीच, गण्डकी प्रदेश सरकारले कृषि कार्यक्रमलाई साना तथा मझौला किसानसम्म पु¥याउने, कृषि उपजको बजारीकरण सहज बनाउने र कृषि बीमा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस