नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन
काठमाडौं, १४ असोज ।
सङ्घीय संसद्को अर्थ समितिले नेपाली पूँजीबजारलाई पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउन धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसद्मा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।
पूँजीबजारका सरोकारवालासँगको छलफलपछि समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणमा सम्बन्धित निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देशन दिनुभएको हो ।
समितिले प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीहरूको पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अघि बढाउन तथा अनलाइन कारोबार प्रणालीका प्राविधिक समस्या समाधान गरी साइबर सुरक्षा बलियो बनाउन भनेको छ ।
त्यस्तै, दोस्रो बजारमा हुने कर्नरिङ, सर्कुलर ट्रेडिङ र पम्प एन्ड डम्पजस्ता गैरकानुनी गतिविधि नियन्त्रण गरी दोषीलाई कारबाही गर्न तथा नेप्से र सीडीएससीका रिक्त प्रमुख कार्यकारी अधिकृत पद तत्काल पूर्ति गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।
छलफलमा सीडीएससीका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले ८० लाख लगानीकर्ताको तथ्याङ्क व्यवस्थापनका लागि प्रविधि र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले अक्शन मार्केट सञ्चालन र गैरआवासीय नेपालीको लगानी भित्र्याउने तयारी पूरा भएको जानकारी दिनुभयो ।
नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले उपलब्ध नियमावलीअनुसार वित्तीय उपकरण सञ्चालन गर्न नेप्से सक्षम रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूँजीबजार समिति सभापति प्रियराज रेग्मीले भने नेप्सेमा रणनीतिक साझेदार भित्र्याउन, संस्थागत लगानीकर्ताको कर घटाउन र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड दिनुभयो । ०००००










प्रतिकृया दिनुहोस