ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौँ, १६ असोज ।
ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा आज काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ । सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ९० प्रतिशतले बढी हो । बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी, ग्राहक, नियामक निकाय तथा शुभेच्छुकको निरन्तर सहयोगका कारण बैंकले दुई दशकको यात्रा पूरा गर्न सफल भएको बताउनुभयो । उहाँले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
ग्राहकलाई थप सहज र आधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा लगानी बढाउने जानकारी पनि उहाँले दिनुभयो । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ । ०००००
 

प्रतिकृया दिनुहोस