सुरक्षा निकायबाट खाना पकाउने ग्यास वितरण गर्ने तयारी
काठमाडौं, १६ असोज ।
सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायमार्फत पनि बिक्री वितरण गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोलियम पदार्थ बिक्री केन्द्रबाट ग्याससमेत वितरण गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभएको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमनसम्बन्धी कार्यक्रममा सचिव तामाङले ग्यास वितरणमा असहजता उत्पन्न भएका बेला सुरक्षा निकायका आउटलेटबाट बिक्री गर्दा आपूर्ति सहज हुने बताउनुभयो ।
उहाँले अहिले सुरक्षा निकायले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको उल्लेख गर्दै ती निकायका कम्तीमा एक–दुई वटा बिक्री केन्द्रबाट ग्याससमेत वितरण गर्न सके आपत्कालीन अवस्थामा राज्यलाई सहज हुने बताउनुभयो ।
सम्भावित ग्यास अभावलाई मध्यनजर गर्दै आवश्यक व्यवस्था मिलाउन तयारी भइरहेको पनि सचिव तामाङले जानकारी दिनुभयो । ०००००











प्रतिकृया दिनुहोस